नेपाल प्रहरीको ३०औं आइजीपीमा बसन्त कुँवर

621

रौतहट । सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरको बढुवा गरेको छ । आज अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

अवकाश पाएका आईजीपी धिरजप्रताप सिंहको कार्यकाल आज (चैत १०) सम्म रहेको थियो । सिंहको आज नै प्रहरी प्रधान कार्यालयमा बिदाइ गर्ने कार्यक्रम छ । मन्त्रिपरिषदले प्रहरीको ३० औं आईजीपीको रुपमा कुँवरको बढुवा गरेको हो । उनले आफ्ना प्रतिस्पर्धी चार एआईजीलाई पछि पारेका छन् ।

दुई साताअघि गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले कुँवरसहित ५ जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो भने गत बुधबार मात्र मन्त्रिपरिषदले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको थियो । एआईजीमा बढुवा भएको दुई दिनमा नै कुँवर आईजीपी बनेका हुन् ।

कुँवर २०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । डीआईजी रहँदा मधेस प्रदेश प्रमुख रहेका उनले प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए । पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो।

आइजिपी धिरजप्रताप सिंह आजदेखि नियमित अवकाशमा जाँदैछन्। कुँवर २०८१ चैतसम्म प्रहरीको नेतृत्वमा रहने छन्।