कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुदैँ

82

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ ।

आज दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ भने दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ ।

साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५ः४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेद्वारी दिनका लागि ५१ हजार रुपैयाँ दस्तुर लाग्ने भएको छ ।

संसदीय दलको नेताको मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

तर पछिल्लो पटक नेता डा। शेखर कोइराला पनि चुनाव लड्न सक्ने ठानिएको छ । कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार पुस १० गतेसम्म सरकार गठनका लागि दावेदारीका लागि दलहरुलाई आह्वान गरिसकेकी छिन् ।

त्यस्तै बिहीबार नवनिर्वाचित सांसदहरुले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । कांग्रेसले सरकार गठनका लागि आफ्नो दाबी रहने जनाएको छ । ठूलो दलको हैसियत पाएको कांग्रेसको संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने देखिएको छ । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू आलोपालो प्रणालीअन्तर्गत पहिलो चरणमा प्रधानमन्त्री बन्नका लागि पहल तीव्र पारिरहँदा कांग्रेसले संसदीय दलको नेता छान्न लागेको हो ।

कांग्रेसमा मात्र संसदीय दलको नेता चयनका लागि निर्वाचन हुनेछ । अन्य दलहरुले पार्टीका प्रमुखलाई नै संसदीय दलको नेता चयन गरिसकेका छन् ।