काठमाण्डौ/ प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै निर्वाचन कानुन अनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार तयारी गरिरहेको जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको मिति तोक्नका लागि आयोगले सरकारलाई सिफारिस गर्ने बताए ।
आगामी चुनावबारे सरकारसँग छलफल नभएको र छिट्टै सरकारसँग भेटघाट हुने उनको भनाइ छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि असार १ गते अर्थात भोलिदेखि मतदाता नामावली संकलनको काम सुरु गर्ने पनि आयोगले जनाएको छ । प्रवक्ता पौडेलले ७७ वटै जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र ८३ वटा ईलाका प्रशासन कार्यालय मार्फत नामावली संकलन र अध्यावधिक गरिने बताए ।
कुनै पेशा व्यवसायका कारण अर्को जिल्लामा रहेपनि सो जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने उनको भनाइ छ ।
विवाह वा अन्य कुनै कारणले अर्काे जिल्लामा मतदाता नामावली सार्न चाहेमा सोही जिल्लामा निवेदन दिने र सो कार्यालयबाट प्राप्त पत्र नयँ“ जिल्लाको निर्वाचन कार्यालयमा बुझाउनुपर्ने उल्लेख गरे ।