उप–प्रमुखद्वारा नगरसभा बहिष्कार,नगरपालिकाको बजेट ५३ करोड

708

गरुडा–रौतहटको गरुडा नगरपालिकाका उप–प्रमुखलगायत २६ जना जनप्रतिनिधिले आइतबार सुरु भएको छैटौं नगरसभा बहिष्कार गरेका छन् ।नियमविपरीत नगरसभा गरिएको भन्दै उनीहरुले बहिष्कार गरेका हुन् ।
चालु आर्थिक वर्षको योजना तर्जुमाका लागि असार १० भित्र परिषद् सम्पन्न गरिसक्नु पर्ने थियो । तर गरुडामा प्रमुख ईन्नुराय यादव र उपप्रमुख रंगीलादेवी जैसवाल बीचको विवादले परिषद् हुन सकेको थिएन । परिषद् बस्न उपप्रमुख जैसवालले पटक–पटक ताकेता गरे पनि प्रमुख यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले आलटाल गर्दै आएका थिए ।
यहीबीच परिषद्को मिति तय गरियो ।परिषद् हुदैछ भनेर हुलाकबाट चिठी आएपछि मात्र थाहा पाएको उपप्रमुख जैसवालले बताइन् । नगरपालिका र मेरो घरको दुरी नजिक छ । कोही कर्मचारी आयो भने पनि समय लाग्दैन । प्रमुखज्यूले हुलाकबाट चिठी पठाउने काम गर्नु भयो,उनले भनिन्,कानुन मिचेर परिषद् गर्न लागेकोले मैले उपस्थिति हुन मनासिव ठानिनन् ।कार्यपालिका बैठक नबसी जबरजस्ती नगरसभा गर्न थालेपछि विवाद चुलिएको हो ।
निमित्त अधिकृत आलमको समेत उपस्थिति बेगर नगरसभा गर्न लागेपछि उपप्रमुख जैसावाललगायत वडा नम्बर ९, २, ३, ७ का अध्यक्षलगायत कार्यपालिका सदस्य गरी २६ जनाले परिषद् बहिष्कार गरेका छन् । उनीहरु परिषद्स्थलमै गएनन् । अघिल्लो वर्ष पनि गरुडामा नगर प्रमुखले एकलौटी ढंगले परिषद् गर्न लागेको भन्दै उपप्रमुख लगायतका जनप्रतिनिधिले बहिष्कार गरेका थिए ।परिषद्मा सहभागी हुन हुलाकबाट उर्दी जारी गरेजस्तै पत्र पठाएपछि उपप्रमुखलगायतका जनप्रतिनिधि रुष्ट छन् ।
प्रक्रिया नै पूरा नगरी सभा गर्न लागेपछि झनै विवाद बढेको हो ।
परिषद्मा नगर प्रमुख यादवलगायत केही जनप्रतिनिधिहरुमात्रै थिए । निमित्त अधिकृत आलमसमेत छैनन् ।उनी मोबाइलको स्वीचअफ गरेर सम्पर्कविहीन भइबसेका छन् । नगरपरिषद् अगाडि राजस्व परामर्श समिति बैठक बसेर छलफल गर्नुपर्छ । त्यसपछि कार्यक्रम तर्जुमा समितिले निर्णय गर्छ । आगामी आबको व्यय बजेट पारित गर्नुअगावै नगरपालिका बैठक बसी नीति तथा कार्यक्रम पारित गराउनुपर्छ । यही क्रममा वडामा कार्ययोजनाको सिलिङ पठाउनुपर्छरु। वडाले योजना बनाएर परिषद्मा पेस गर्छ । यी प्रक्रियाहरु नभई परिषद् हुन लागेको भन्दै जनप्रतिनिधिहरुले बहिष्कार गरेका हुन् ।
निमित्त अधिकृत आलमले असोज १७ गते नगरसभा आह्वान गरिएकोमा विभिन्न समिति बैठकलगायत निर्णयहरु नभएको र तयारी पूरा नभएकाले परिषद् स्थगित गरेको असोज १५ गते सूचना निकालेका थिए ।
उनले सूचना जारी गरेको एक घण्टा पनि बित्न नपाउदै प्रमुख यादवले सोही मितिमा नगरसभा स्थगित नभएको भनेर सूचना जारी गरे ।
स्थगितको पत्र कुनै आधिकारिता नभएको र नगरसभाको सम्पूर्ण अधिकार प्रमुखलाई नभएकाले तोकिएकै मितिमा परिषद् हुने जानकारी दिए । सबै प्रक्रिया पूरा गरेर परिषद् गरिएको हो,प्रमुख यादव भन्छन्,नियमको परिधिभित्र रहेर सभा गरेका हौं । जनप्रतिनिधिहरुले सभा बहिष्कार गरे पनि प्रमुख यादवले सुचारु राखेका थिए ।
नगर प्रमुख इनु राय यादवको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८÷०७९ मा नगरको समग्र विकासका लागि ५३ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि गरुडा नगरपालिकाले आफना छैठौं नगरसभाबाट ५३ करोड ७५ लाख ६२ हजार रुपैयाँ बजेट पारित गरेको छ । कार्यक्रममा नगर प्रमुख इनु राय यादवले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाडफाड, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गरेका हुन । यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख यादवले बताए । चालु आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमको लक्ष्य समृद्ध नगर, खुसी नगरवासी रहेको छ । यस वर्ष विकास खर्चको कम्तीमा ८० प्रतिशत रकम पक्की कार्यमा खर्च गरिने नगरसभाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।