हत्या आरोप लागेका प्रहरी निरीक्षकसहित ३ जना अझै पक्राउ परेनन्

80

गरुडा–कर्तव्य ज्यान आरोपमा पक्राउ परेका गरुडा नगरपालिका–८ जिंगडियाका १९ वर्षीय विजय रामको मृत्युको अभियोग लागेका प्रहरी निरीक्षकसहित ३ जना अझै पक्राउ परेका छैनन् ।
यातना र ज्यानसम्बन्धी कसुरमा मुद्दा लागेका उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरीले चासो नदेखाएको आरोप पीडितहरूको छ । अभियुक्तहरूलाई पक्राउ गर्न जिल्ला प्रहरीले गएको मंसिर १७ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
हत्या आरोपमा पक्राउ परेका विजयलाई अनुसन्धानका लागि भनेर हिरासतमै यातना दिने जिल्ला प्रहरीका तत्कालीन प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दार हिरोज मियाँ धुनिया र मुन्ना सिंहमाथि यातना र ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको एक वर्ष पुग्दा पनि प्रहरीले पक्राउ गर्न नसकेको हो ।
विजयको हिरासतमै मृत्यु भएको थियो । त्यसपछि तीनै जनालाई निलम्बन गरिएको थियो । मृतकका बुबा पनिलाल महराले गएको भदौमा जिल्ला न्यायाधिवक्ताको कार्यालय मार्फत जाहेरी दर्ता गराएपछि तीनै जना फरार भए ।
उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरीले चासो नदेखाएको स्थानीय राकेश यादवले बताए । सर्वसाधारण परेको भए धुइपताल खोजेर ल्याउथे,उनले भने,प्रहरी नै परेको हुनाले खोजबिन र पक्राउ गर्न चासो देखाइएको छैन । तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काका अनुसार प्रहरी निरीक्षक सिंहलगायतका प्रहरीले इलाका प्रहरी कार्यालय गरुडा पठाएर रामलाई हत्या कबुल गराउने बाहनामा चरम यातना दिएको थियो ।
एसपी खड्काविरुद्ध पनि ज्यान मुद्दामा किटानी जाहेरी दर्ता छ । तर, उनलाई पक्राउ गरिएको छैन । उनी केही समयअघि सेवानिवृत भइसकेका छन् । घटनापछि एसपी खड्कालाई जिम्मेबारीबाट हटाएर प्रहरी प्रधान कार्यालय तानिएको थियो । जिगडियाका निरन्जन रामको २०७७ साउन ३१ राति घा“टी रेटेर हत्या गरिएपछि घटनामा सलग्न भएको दाबी गर्दै इलाका प्रहरी गरुडाले विजयलाई पक्राउ गरेको थियो । तर उनले अपराध स्वीकार नगेपछि जिल्ला प्रहरी कार्यालयबाट सिंहको टोली आएर यातना दिई हत्या कबुल गर्न लगाएको पीडित परिवारको भनाइ छ ।
यातनाबाट गम्भीर बिरामी परेका विजयको २०७७ भदौ १० मा उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको हो । घटनालगत्तै पीडितहरूले दोषीमाथि कारबाहीको माग गर्दै सडक संघर्ष सुरु गरेका थिए ।
घटनामा हुदै नभएको विजयलाई पक्रेर यातना दिने काम भयो,उनले भने,यातना दिने प्रहरी पक्राउ गर्न जिल्ला प्रहरीले चासो देखाएको छैन । पक्राउ नपरेकै कारण यो मुद्दा पनि त्यत्तिकै थन्किएको छ । जिल्ला प्रहरीका डीएसपी रानायण चिमरियाले ज्यान मुद्दामा फरार तीनै जनाको खोजीमा कुनै कसर बा“की नराखेको दाबी गरे ।