बालकृष्ण घिमिरे
हिजो देखि एउटै कुराले दिमाग फनफनी घुमिरहेको छ । जब चिनेको एक भाउजुले एक्कासी बाबु अब दाई को र मेरो सम्बन्ध विच्छेद हुदैछ भनेर मलाई म्यासेज गर्नु भयो । मेरो यता उता कुदिरहेको मस्तिष्क एकै थुप्रो भै जम्यो अनी मुख बाट फुत्त निस्की हाल्यो किन भाउजु ? अनी भाउजुले भन्नु भयो अवस्था सोचेभन्दा फरक भै दियो जसका लागि म सबै संग लडे आज उ म संग लडदै छ । अब छोरी माइतै राखेर सम्बन्ध विच्छेद गरी बाहिर जाने । म स्तब्ध भए म संग बोल्न अरू शब्द नै थिएन किनभने जीवन का हरेक दुःखमा उनीहरू एकले अर्को लाई साथ र ढाडस दिदै अगाडी बढेको देखेको र सुनेको थिए । फेरि भाउजु बोल्नु भयो अब मिलेर बस्न सकिन्न बाबु विचार मिलेन। म अझै पनि चुप थिए अनि आफै लाई प्रश्न गरे प्रेम गरेर गासिएको सम्बन्ध पनि यस्तो हुन सक्छ??
पछिल्लो समय म जहां छु त्यसको वरिपरि प्राय जसो यस्तै चित्र , चरित्र, वेदना र क्रोधका कहानीहरु भेटिरहन्छ अनी कहानीहरुमा एउटा कुरा प्राय मिलिरहेको हुन्छ प्रेम विवाह । म व्यापारिक मान्छे भएर पनि होला बजार लगाएत विभिन्न स्थानहरू मा निकै धेरै व्यक्तिहरूको संगत र सामीप्य मा रहन्छु अनि प्राय यस्ता घटनाहरु म संग ठोकिन आइपुग्छन् । यस्ता घटनाहरु नजिक बाट हेर्ने सुन्ने र नियाल्ने अवसर पनि पाइरहेको हुन्छु ।
प्रेम आफै मा कति पवित्र र महत्वपुर्ण शब्द हो म यकिनका साथ भन्न सक्दिन तर प्रेम आफैमा एक अपूर्ण प्रक्रिया चै हो जो कहिल्यै सकिन्न र कहिल्यै रोकिन्न पनि । प्रेम हुनु गरिनु र सम्बन्ध जोडिनु कतिपय अवस्थामा गलत होइन तर सम्बन्ध जोडिएर तोडिनु भनेको चै चली रहेको मुटु एक्कासी रोकिनु जस्तै हो जसले पुन गति लिए जीवनको गन्तव्य भेटाउने छ नभए त्यतिकै अल्मलिएर अन्त्य हुने छ भनेको सम्बन्ध विच्छेद पछि प्राय व्यक्तिहरु गन्तव्य बिनानै यथा स्थितिमा अल्मल्ली रहेका हुन्छन् अब के हुन्छ भन्ने हेक्का सम्म नी गर्न सक्दैनन् भने केही व्यक्तिहरू मात्र पुरानै अवस्थमा आउछन वा अझ दरिलो हुन्छन् ।
सेलिब्रेटी, प्रख्यात तथा धनाढ्य व्यक्तिहरु लाई यसले ठूलो असर पारेको नदेखिए पनि सामान्य मान्छे लाई भने यसले नराम्ररी थला पार्न सक्छ र देखिएको पनि छ ।
कानूनी रुपमा सम्बन्ध विच्छेद हुनु वा गर्न पाउनु ठिक त होला तर यसले सम्बन्धलाई कुन स्थानमा पुर्यायो यो आफै मा एक प्रश्न भै दिएको छ । बुझेर, सोचेर जीवन केही सहज बनाउनका लागि गरिएको सम्बन्ध विच्छेद त ठिक होला तर कर काप, सामान्य अवस्था र देखावटी कै भरमा गरिएको सम्बन्ध विच्छेदले कति सकारात्मक परिवर्तन ल्याउला यो आफैमा एक प्रश्न भै दिएको छ । आत्म सम्मान र माया कै कारण गरिएको सम्बन्ध विच्छेद त ठिक होला तर माया नबुझेरै गरिएको सम्बन्ध विच्छेद कतिको ठिक यो आफैमा एक प्रश्न भै दिएको छ ।
अन्त्यमा सम्बन्ध विच्छेद नेपालमा पश्चिमाहरूको अनुसरण र एक भयंकर विकृतिको रुपमा मौलाउँदै गएको प्रष्ठ देखिन्छ जसरी केही समय अगाडि देखि प्रेम प्राप्तिका निम्ति आत्महत्याका प्रयास एक अचुक उपाय झै मौलाएको थियो र अझै पनि अलि अलि भेटिन्छन् ।सम्बन्ध विच्छेद हरेक व्यक्तिका निम्ति अथाह पीडादायक अवस्था हो । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ । एकले अर्कालाई सम्मान गरौ , माया गरौ, विश्वास गरौ अनी घमण्ड, घृणा र निहित स्वार्थ हरु त्यागौं । आफ्नो र आफ्नाको ख्याल राखौ ।
(वास्तविकतामा आधारीत )