प्रमोदको फिल्म एकको ट्रेलर सार्वजनिक

59

एजेन्सी–मनोज पण्डितको निर्देशनमा बनेको फिल्म एकको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा राजनीतिमार्फत देश टुक्राउन लागि परेको शक्तिविरुद्धको कथा प्रस्तुत गरिएको छ ।
विदेशी षड्यन्त्रबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकाय (रअ) जतिसक्दो चा“डो स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न यो फिल्मले सीएसआई नामक एउटा जासूसी निकायको परिकल्पना गरेको छ ।
देश जोगाउन एउटा इमान्दार एजेन्टको संघर्ष फिल्मको द्वन्द्व हो । मुख्य भूमिकामा अभिनेता विशाल पोखरेल छन्, जो इमान्दार एजेन्टको भूमिकामा छन् । लामो समयको अन्तरालपछि उनी यो फिल्मबाट अभिनयमा फर्किएका हुन् । अभिनेत्री ज्योत्सना योगी उनको सहयोगी एजेन्टको रुपमा छिन् । अभिनेता प्रमोद अग्रहरीलाई भने स्वतन्त्र मधेशका लागि लड्दै गरेको देख्न सकिन्छ ।
फिल्मको कथा निर्देशक पण्डितले नै लेखेका हुन् । आत्मा गुरागाइ र सोफी थापा निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, भरतमणी रेग्मीले सम्पादन र प्रमोद खड्काको द्वन्द्व निर्देशन छ ।

स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा बनेको फिल्ममा सवीर चुरौते, प्रमोद खड्का, विश्वान्त पोखरेल, मदन ठाकुर, सुरेश शाह, रामशरण पाठक, हरोण अलीको पनि अभिनय रहेको छ ।
कोरोना भाइरसका कारण महिनौंदेखि बन्द रहेका सिनेमा हल खुल्ने निश्चित नभएपछि यो फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गरिँदैछ । आउदो दशैंको घटस्थापनाको अवसर पारेर असोज २१ बाट यो फिल्म सिनेमाघर एप्लिकेसन, डिस होम, नेट टिभी, भाए टिभी, म्याक्स टिभी र ओहो मुभिजमा सःशुल्क हेर्न सकिनेछ । फिल्मको छायांकन मधेशका फाँटदेखि डोल्पासम्म गरिएको छ ।