निर्माणाधिन नालामा नाटक जारी

1965

६० लाख बजेट उपभोक्ता समितिमार्फत राजमार्गमा नाला बनाउन दिइएको भएपनि नालामा गुणस्तरहीन काम भएको,निर्माणमा ढिलासुस्तीका कारण व्यापार व्यवसाय प्रभावित हुंदै आएको स्थानीय ब्यापारी दिवाकर सापकोटाको आरोप छ ।

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा निर्माणधिन नालाका कारण स्थानीयले सास्ती भोग्नुपरेको छ ।
चन्द्रपुर नगरपालिकाले गौर रोड देखी पुर्व—पश्चिम राजमार्गमा नाला निर्माण समिति गठन गरेर ६० लाखको लागतमा नाला निर्माणको लागी बिनियोजन गरेको बजेटको काम समयमै नहु“दा स्थानीय बासिन्दा,व्यापारी देखी पैदलयात्रीसम्मलाई समस्या परेको छ । नाला निर्माणका क्रममा खानेपानीको पाईप समेत फुटेका कारण धेरैले घरमा १ महिनादेखी खानेपानीको समस्या झेल्दै आउनुपरेको स्थानीय नरेश लामिछानेले बताए ।
खानेपानीका बारेमा चन्द्रनिगाहपुर खानेपानी उपभोक्ता समितिलाई जानकारी गराउदा जसले खानेपानीको पाईप फुटाएको हो उसैले बनाउनुपर्ने जवाफ आफुहरुलाई आएको उनले बताए । यता नाला निर्माण समितिका अध्यक्ष यादब क्षेत्रीले खानेपानीको पाईप जडान गर्ने काम खानेपानी समितिको भएको बताउदै आफुले सकेको सहयोग गरिरहेको बताए । चन्द्रनिगाहपुर खानेपानी र नाला निर्माण समिति दुबैको जुदाईमा स्थानीयले सास्ती खेप्दै आउनुपरेको लामिछानेको आरोप छ ।
६० लाख बजेट उपभोक्ता समितिमार्फत राजमार्गमा नाला बनाउन दिइएको भएपनि नालामा गुणस्तरहीन काम भएको,निर्माणमा ढिलासुस्तीका कारण व्यापार व्यवसाय प्रभावित हुंदै आएको स्थानीय ब्यापारी दिवाकर सापकोटाको आरोप छ । केही हप्ता अगाडी नाला निर्माण निर्माण गर्न आफ्नो पसल अगाडी खाल्टा खनिएको तर खाल्टा खनि सकेपछि नाला निर्माणको कार्य तिब्र गतिमा अगाडी बढाउनु पर्नेमा निर्माण कार्य बन्द रहदा ब्यापारमा प्रत्यक्ष असर परेको उनको भनाई छ । नाला निर्माणको कार्य तत्काल सञ्चालन गरि गुणस्तरीय काम गर्न र चाडै ब्यवसाय सञ्चालनमा सहजता बनाइदिन ब्यापारीहरुले माग गरेका छन । गौर चन्द्रनिगाहपुरमा चल्ने म्याजिक पार्किङमा समेत नाला निर्माणको खाल्टाले असहज भएको चालकहरुले गुनासो गरेका छन् । यस बिषयमा चंद्रपुर नगरपालिकाको ध्यान जान जरुरि रहेको स्थानीयको भनाई छ।