संसद बिघटन गर्ने सरकारको निर्णयमा कारण देखाऊ आदेश जारी

336

काठमाडौं, १० पौष । सर्वोच्च अदालतले संसद बिघटन गर्ने सरकारको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ । आज संसद बिघटनविरुद्ध परेको एक दर्जनभन्दा बढी निवेदनमाथि संवैधानिक इजालाशमा सुनुवाईपछि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । निवेदनहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा गठित संवैधानिक इजलाशमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । इजलासले मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।त्यस्तै मन्त्रिपरिषदले संसद विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले गरेको स्वीकृतिको सक्कल प्रति मगाउन पनि आदेश दिएको छ । सर्वोच्चले संसदबाट पनि सबै दलको प्रतिनिधित्वको कपी माग गर्ने आदेश दिएको छ । सर्वोच्चले यस रिटमाथि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनसँग एमिकस क्युरी पनि माग गरेको छ ।