रामचन्द्र पौडेलको गिरफ्तारीले काँग्रेसलाई जुटाइ दियो

1484


डा. राजकुमार राई
गत मङ्सिर १७ गते बुधबार आफ्नो पहलमा सुरु गरी सम्पन्न भएको तनहुँको व्यास नगरपालिका – १ तालघरे र व्यास – १० र ११ जोड्ने बुल्दी खोलाको मोटरेवल पुल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम थियो । त्यसका लागि उपभोक्ता समिति, ठेकेदार र स्थानीय नगरपालिकाद्वारा उहाँलाई आमन्त्रण गरिएको थियो । तर त्यस क्षेत्रका नेकपाका नेता कार्यकर्ताहरूलाई सो उद्घाटन कार्य मन परेको थिएन । किनकि उनीहरू यो कार्यक्रमलाई आफ्नो राजनीतिक अभिष्टको प्रतिकूल ठान्थे । अनेक बहाना बाजी गर्दै त्यो कार्यक्रमलाई रोकेर उनीहरू आफ्नै नेताद्वारा उद्घाटन गराउन चाहन्थे। त्यसका लागि नेकपा समर्थित राष्ट्रिय युवा सङ्घ नेपालले अवरोध गर्दै तनाव उत्पन्न गराइएको थियो । नेकपा र नेपाली काँग्रेसका कार्यकर्ताहरूबीच झडपको अवस्था सिर्जना गरेर जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी गरियो ।

ठेकेदार, उपभोक्ता समिति लगाएत स्थानीयहरूको निम्तालाई स्वीकार्दै वरिष्ठ नेता पौडेल कोरोनाको कहरलाई पनि प्रवाह नगरी उत्साहित हुँदै काठमाडौंबाट आफ्नो गृह जिल्ला आएका थिए । पूर्व निर्धारित कार्यक्रमअनुसार त्यो स्थलमा जाने क्रममा प्रहरीले उनलाई अभद्र व्यवहार गर्दै गिरफ्तारी गर्यो । पौडेललाई गिरफ्तारी गर्नुपर्ने कुनै कारण विना गिरफ्तारी गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र देखायो । सबैतिरको विरोधको वावजुद उनी ३ घण्टा पछि रिहा भए । वास्तवमा यो एउटा सामान्य घटना थिएन । किनकी रामचन्द्र पौडेल जस्तो त्यो उचाईको व्यक्तित्वलाई समेत यसरी प्रहरी लगाएर धरपकड गरिन्छ भने साधारण व्यक्तिको के हालत होला भन्ने चिन्ताको विषय भयो ।

आफ्ना वरिष्ठ नेतालाई प्रहरीले लछारपछार गर्दै गिरफ्तार गरेको दृश्यले मुलुकभित्र र बाहिर रहेका सम्पूर्ण कांग्रेसी नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई नराम्रोसँग चस्का पस्यो । त्यो प्रहार उनलाई मात्र गरेको नभनी सारा कांग्रेसीहरूले आफूलाई गरेको सरह महसुस गरे । साथै स्वतन्त्र वुद्धिजीवी र सर्वसाधारण जनताहरूलाई पनि सरकारको यो कार्य सुपाच्य भएन । नेपाली संस्कारअनुसार पनि पाका मानिसलाई विशेष सम्मान गरिन्छ । त्यसमाथि उनी राज्यका विभिन्न उच्च ओहोदाहरू सम्हालिसकेका व्यक्ति हुन् । उहाँलाई पनि व्यक्तिगत रुपमा चोट लाग्यो । नेपाली काँग्रेसका पार्टी सभापतिदेखि, काङ्ग्रेस संसदीय दल र सामाजिक सञ्जालका प्रयोगकर्तासम्मले सम्मानित व्यक्तित्व तथा वरिष्ठ नेता पौडेललाई प्रहरी लगाएर गरेको धरपकडको चर्को आलोचना गरे ।

समकालीन नेताहरूमा उहाँ उमेरले साथै वरिष्ठ नेता हुनुहुन्छ । निश्कलंक र सम्मानित व्यक्तित्व हुनुहुन्छ । लोकतन्त्रको तथा सामाजिक न्यायका लागि पटक पटक गरेर १३ र १४ वर्ष जेल बसेको व्यक्तिलाई पुलिस लगाएर लछारपछार गर्नु भनेको लोकतन्त्रको उपहास गर्नु हो । भन्नलाई उहाँको सुरक्षाको लागि पुलिसले जोगाउन खोजेको भनेर कुतर्क दिन सकिन्छ । तर त्यो पुरापुर सफेद झुट हो । किनकि त्यहाँ कृतिम झडपको अवस्था सृजना गरिएको थियो। उहाँको सुरक्षाको लागि आफ्नै कार्यकर्ताहरू पर्याप्त थिए । त्यो ठाउँमा निषेधाज्ञा लगाउनु पर्ने कुनै ठोस आधार पनि थिएन । जिल्ला प्रशासन कार्यालयले सिर्फ नेकपाका स्थानीय नेता कार्यकर्ताहरूको प्रभावमा परेर निषेधाज्ञा लगाएर रामचन्द्र पौडेलको कार्यक्रम बिथोल्ने प्रपंच मात्र थियो भन्ने तथ्य जोसुकैले पनि सजिलै बुझ्ने कुरा हो ।

उहाँको गिरफ्तारीलाई चौतर्फी विरोध भयो । ओली सरकारको खुवै आलोचना भयो । त्यसपछि प्रहरी, प्रशासन र नेकपाका नेता कार्यकर्ताहरू पछि हट्न वाध्य भए र त्यसको भोलि पल्ट अर्थात् मङ्सिर १८ गते बिहीबार आफ्नो समर्थकहरूको ठूलो उपस्थितिबीच रामचन्द्र पौडेलद्वारा उक्त पुलको उद्घाटन कार्य सम्पन्न भयो । उहाँ लगायत समस्त कांग्रेसीजनहरूलाई एउटा युद्ध जितेजस्तो महसुस भयो ।

उक्त घटनाले कम्युनिष्टहरूको चरित्रको बारेमा ठूलो पर्दाफास भयो । उनीहरू अर्काले लगाएको खेतीमा बाली भित्र्याउनु हिच्किच्याउँदैनन् । अर्थात अरूले ल्याएको योजनालाई आफूले ल्याएको भनी सोझा साझा जनतालाई भ्रम पारी जनमत आफूतिर तान्न उनीहरू ज्यादै सिपालु छन् । अर्कै पार्टीका मानिसहरूले ल्याएको धारा, कुलो, बिजुली, विद्यालय, अस्पताल, बाटोलाई उनीहरूको नेताले ल्याएको भनी प्रचार गरिन्छ । कांग्रेसीहरू यो मानेमा आफैले ल्याएको विकासलाई पनि हामीले ल्याएको भन्न सक्तैनन् । बिज्ञापनको जमानामा कांग्रेसीहरूको यो ठुलो कमजोरी हो ।

तर जे भए पनि अर्को कोणबाट हेर्ने हो भने नेकपाका सरकारलाई धन्यवाद दिनै पर्छ । गत आमनिर्वाचनमा नेकपाले झन्डै दुई तिहाई प्रतिनिधि संख्या ल्याएपछि प्रतिपक्षीको भूमिका शुन्य जस्तै भएको अवस्थामा रामचन्द्र पौडेलको कार्यक्रमलाई बिथोल्न खोजेर प्रतिपक्ष कहाँ छ भनेर खोज्ने प्रयास गरेको आभास भयो । कम्युनिष्ट सर्वसत्तावादको विरुद्ध तनहुँका कांग्रेसीहरू मात्र नभएर सम्पूर्ण कांग्रेसीहरू एक हुनका लागि भूमिका खेल्यो । पार्टीको गतिविधि गौण भइरहेको अवस्थामा कार्यकर्ताहरूलाई उर्जा मिल्यो । उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर व्यक्तिगत रुपमा अपमान गरे जस्तो देखिए पनि पार्टीमा उहाँको उचाइ झन् बढ्यो । उनी यो बुढ्यौली उमेरमा पनि जुझारु नेताको रुप प्रस्तुत हुन सफल भए । मनन गर्नु पर्ने यथार्थ राजनीति गर्नेलाई सरकार वा राज्यले कहिल्यै पनि सम्मान गर्दैन । जनताले सम्मान गर्ने हो ।

नेपाली काँग्रेसले त्यो घटना भएको १३ दिन पछि अर्थात आजका दिन ९मङ्सिर २९ गते० देशैभरि ७७ रै जिल्लामा विरोध कार्यक्रम राखेको छ । त्यसका लागि केन्द्रीय नेताहरू विभिन्न जिल्लाहरूमा खटिएका छन् । कांग्रेसले यो विरोध कार्यक्रमलाई ज्यादै महत्वका साथ लिएको छ । यो विरोध भनेको नेकपाको सरकारको सर्वसत्तावादी कार्यशैली विरुद्धको शक्ति प्रदर्शन हो । आन्तरिक द्वन्द्वमा फस्दा त केपी वोलीको सरकारको यस्तो हर्कत गर्दछ भने यदि नेकपा एक ढिक्का हुन्थ्यो भने जनताको लागि लोकतन्त्र पुरै धरापमा पर्ने थियो भन्ने बुझ्न गाह्रो छैन । आसा गरौं यो विरोध कार्यक्रमको प्रभावले नेकपाका नेता कार्यकर्ता तथा ओली सरकारले आफ्नो चिन्तन र कार्यशैलीमा परिवर्तन गर्न भूमिका खेल्नेछ ।