रौतहटमा भएन शान्ती सुरक्षाको प्रत्याभुती

597


यादबराज पुरी

रौतहट, १३ भदौ । निर्दोष पक्राउ गरी दोषीलाई उन्मुक्ति दिएको प्रहरी प्रतिको आरोप नसेलाउँदै रौतहटमा पक्राउ परेका एक अभियुक्तको मृत्युले नागरिक शान्ति सुरक्षाको स्थितिमा आश्वस्त बन्न सकेका छैनन् । गत महिना (साउन ३१ गते) गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय युवक निरञ्जन राम चमारको हत्यामा प्रहरीले दोषीलाई काखी च्याप्दै निर्दोष पक्राउ गरेको भन्ने आरोप लागिरहेकै बेला पक्राउ परेका मध्ये एक जना युवाको मृत्युले नागरिक शान्ति सुरक्षाको स्थितिमा आश्वस्त नदेखिएका हुन् ।
घाँटी रेटी हत्या भएको उक्त घटना नसेलाउँदै घटनाको पाचौँ दिनमा रौतहटका एक पुजारीको हत्या भएको छ । यही भदौ ३ गते राती आफ्नै कुटीमा खाना खाँदै गर्दा माधवनारायण नगरपालिका–२ खेसहरिया टोलमा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई अज्ञात व्यक्तिको समूहले कन्चटमा गोली हानी हत्या ग¥यो । हत्या भएको दशौं दिन बितिसक्दा पनि प्रहरीले अपराधि पत्ता लगाउन नसक्दा शान्ति सुरक्षाको प्रत्याभूति पाउन सकेका छ्रैनन् नागरिकले ।

इलाका प्रहरी कार्यालय गरुडा घेराउ गर्दै मृतकका आफन्त।


प्रहरीले मृतक निरञ्जन रामको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ गरी कारवाही अगाडी बढायो । तर, पीडित पक्षले वास्तविक अपराधिलाई छोडेर निर्दोषलाई पक्राउ गरेको भन्दै इलाका प्रहरी प्रहरी कार्यालय गरुडामा घेराउ समेत गरेका थिए । यसैबीच पक्राउ परेका मध्ये एक दलित युवा विजय रामको मृत्युले त झनै आगोमा घ्यु थपियो । हिरासतमा राखिएको अभियुक्त रामको स्वास्थ्यमा समस्यमा देखिएपछि उनलाई उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज लगिएको थियो । बुधबार राती नै उनको अस्पतालमा मृत्यु भयो ।
हिरासत्मा प्रहरीको कुटाइबाट अभियुक्त रामको मृत्यु भएको भन्दै बिहीबार स्थानीयले इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोको विरुद्धमा चर्का नारा लगाउँदै कारवाहीको मागसहित कार्यालय घेराउ गरे । यता प्रहरी नायव उपरीक्षक महतोले भने किड्नीको समस्याले गर्दा अभियुक्त रामको मृत्यु भएको अस्पतालको रिपोर्टले बताएको प्रतिक्रिया दिए । उनको शरीरमा भएको निलडामको बारेमा जिज्ञासा राख्दा नायव उपरीक्षक महतो मौन बसे ।
जिल्ला प्रशासन कार्यालय र दलित अगुवाबीच मृतक रामको पोष्टमार्टम गर्न टिचिङ् अस्पताल पठाइने र प्रहरी नायव उपरीक्षक महतोको बारेमा अनुसन्धान गरिने सहमति पश्चात स्थिति तनावरहित बनेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
यता हिरासतकै समय अवधिमा मृत्यु हुन्ु भएका अभियुक्त रामको मृत्युको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । प्रहरी हिरासतमा रहँदा याताना दिएको विषयमा आयोगको प्रदेश २ कार्यालय जनकपुरले अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए । उनकाअनुसार आयोगले मृतक अभियुक्त चमारको स्वास्थ्य परीक्षण तथा पोष्टमार्टम प्रतिवेदनको प्रतिलिपि शीघ्र उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट एवं त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभाग महाराजगंजलाई पत्राचार गरेको छ ।
घटनाको बारेमा दलित मुक्ती मोर्चाका अध्यक्ष तथा राष्ट्रिय सभाका पूर्व सांसद् रामप्रित पासवानले जिल्लामा भएको उक्त घटनाले सर्वसाधारणमा त्रास बढेको बताउँदै शान्ति सुरक्षाको प्रत्याभूति गर्न रौतहटबासीले नपाएको आरोप लगाए । उनले प्रहरीको क्रियाकलाप विस्वासयोग्य नभएको समेत आरोप लगाए ।