गौर,२६ साउन। जिल्ला प्रशासन कार्यालय रौतहटले साउन २४ देखी गरेको निषेधाज्ञाको दोस्रो दिन साउन २५ गते आइतबार जिल्लामा कोभिड १९ का १५ नयाँ संक्रमित थपिएका छन् । थपिएका सबै संक्रमित गौर नगरपालिकाका हुन् ।
संक्रमित कुल १५ मध्ये ७ जना वडा नं. ५ का स्थानीय हुन् भने खानेपानी संस्थानका ४ जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । गौर नगरपालिका ९ सिसवाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए ।
एकै दिन ठूलो संख्यामा संक्रमण देखिएपछि गौरमा त्रास बढेको छ । रौतहटमा समुदाय स्तरमा संक्रमण फैलिएपछि साउन २४ देखि ३२ गते सम्मको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हाल रौतहटको २ आइसोलेसनमा १४ जना संक्रमित उपचारको क्रममा रहेका छन् । आइतबार संक्रमित भएकाहरुलाई गरुडाको बिर्तामा रहेको नेपाल प्रहरीको विद्यालय र चन्द्रपुरको शहीद पार्कमा निर्माण भएको आइसोलेसनमा राखिने छ । संक्रमित भेटिएका सबैका कन्ट्याक्ट ट्रेसिङको काम शुरु हुने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए । यसअधि रौतहटको आइसोलेसनबाट १ हजार ३ सय २३ जना कोरोना संक्रमितहरु कोरोनाको लडाई जितेर घर फर्किसकेका छन् ।