आज नागपञ्चमी, नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदै

1379
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

काठमाडौं । आज नागपञ्चमी पर्व । घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।

श्रावण शुक्लपञ्चमीका दिन ब्रह्मासँग विषधर नागको सम्व ाद भए को पौराणिक प्रसंगका आधारमा यस तिथिलाई नागपञ्चमी पर्व मानिएको पूर्वीयग्रन्थहरुमा उल्लेख छ । ब्रह्मासँगको संवादपछि विषधर नागहरु शान्त भएको सम्झनामा यो पर्व मनाउने गरिन्छ । नागपञ्चमीका अवसरमा घरघरमा अनन्त वासुकि कुलिर कर्कोटक तक्षक पद्म महापद्म शंखलगायत अष्टनागको तस्वीर टाँसेर दूध,पिउरी,दुबो,लावा चडाई पूजा गर्ने परम्परा छ ।

यसरी नागको पूजा गर्नाले रोगव्याधि नलाग्ने,अग्निभय चटयाङ तथा वज्रपातबाट जोगिने शास्त्रीय मान्यता छ । जलमूल तथा ठूला जलाशयमा पनि नागको पूजा गर्ने परम्परा छ । काठमाडौको केन्द्रमा रहेको नक्साल नागपोखरी,चोभारमा रहेको टौदह तथा ललितपुरको धापाखेलस्थित नागदहमा आज नागपूजा गर्नेको भीड नै लागेको छ । भगवान विष्णु समुद्रमा शेषनागको आशन बनाई शयन गर्नुहुने भएकाले उहाँलाई शेषशायी विष्णु भन्ने गरिन्छ । नागलाई जलका प्रतीकका रुपमा पनि सम्मान गरिन्छ ।

जलमूल तथा जलाशयमा रमाउने नागहरुलाई वातावरण शुद्धिका महत्वपूर्ण संकेतका रुपमा पनि लिने गरिन्छ । नाग मार्नु हुँदैन,नाग जलका देवता हुन भन्ने मान्यताअनुसार उनीहरुको वासस्थान संरक्षण गर्ने चलन छ । नागपञ्चमीदेखि लोकमा जाडो शुरु हुने एकपछि अर्को गरी पर्वहरुको आगमन हुने जनकथन छ ।