क्वारेन्टाइनमा बस्न आएकाहरु रातभर चौरमा ,समयमा नगरपालिकााले ध्यान नदिदा घर फर्केकाहरुको बिचल्ली

513

जेष्ठ १५,
रौतहट — चन्द्रपुर नगरपालिकाले समयमा क्वारेन्टाइनको व्यवस्था गर्न नसक्दा भारतबाट घर फर्केकाहरु रातभर खुला चौरमा सुत्न बाध्य भएका छन् । पालिकाको ३, ९, १०, ४, ८ र ६ नम्बर वडाका ५१ जनालाई वडा नं ३ का अध्यक्ष रवि देवकोटाले सीमा क्षेत्र गएर बुधबार दिउँसो ल्याएका थिए । उनीहरुले चौरमै एउटा ओछ्याउने त्यो पनि अपुगको भरमा रात बिताए । कोहीले ट्रक मुनि बसेर रात कटाए । उनीहरुलाई चन्द्रपुर ६ स्थितमहिला फुटबल एकेडेमीको क्वारेन्टाइनको चौरमा रातभर अलपत्र पारियो ।
उनीहरु भारतबाट सीमा क्षेत्र आएर त्यहीँको क्वारेन्टाइनमा बसेको जानकारी डेढ साताअघि नै मेयर रामचन्द्र चौधरीलाई गराइए पनि उनले बेवास्ता गरेकाले क्वारेन्टाइन बस्न नपाएर रातभर बिजोग भएको वडा अध्यक्षको आरोप छ । उनीहरुलाई चौरमै छाडेर मेयर चौधरी साँझ घर गएका थिए । उनीहरु बसेको चौरमा सुरक्षाकर्मीले रातभर पहरा दिएका थिए । कोभिड–१९ को संक्रमण बढेपछि भारतको विभिन्न सहरबाट कष्टसँगले सीमाक्षेत्र आइपुगेका उनीहरुलाई त्यहीँ क्वारेन्टाइनमा राखिएको थियो । यहाँ आउँदा बस्ने ठाउँ नभएको एक युवकले बताए । ‘रातभरि खुला चौरमा सुत्नुर्पयो । नगरपालिकाले बेवास्ता गरेकोले सास्ती भोग्नु र्पयो,’ उनले भने, ‘समाज र घरपरिवारका लागि भनेर घर नगइ क्वारेन्टाइन बस्न आएका हौँ । रहरले होइन । बस्ने व्यवस्था छैन भने घरमै जान्छौँ।’
डेढ साताअघि नै जिल्ला प्रशासनले प्रत्येक नगरपालिकाले ५ सय बेडको क्वारेन्टाइन बनाउन पत्रचार गरेको थियो । ‘भारतमा कोरोनाको संक्रमण बढेपछि ज्यान जोगाउन घर आएकाहरु क्वारेन्टाइन नभएर छटपटिएका छन्,’ उनले भने, ‘डेढ साताअघि देखि क्वारेन्टाइन बनाउन भने पनि मेयर चौधरीले केही गर्नुभएन । अहिले आएर बिजोग भएको छ ।’ चन्द्रपुरमा महिला फुटबल एकेडेमीमा स्थापना गरिएको क्वारेन्टाइन बाहेक अर्को विकल्प खोजिएको छैन । त्यहाँ ५० देखि ७० जनाभन्दा बढीलाई राख्ने ठाउँ छैन । मेयर चौधरीले अर्को क्वारेन्टाइन बनाउन लागिएको बताए । उनले नगरपालिकामा बैठक बसेको र चाँडै अर्को क्वारेन्टाइनको टुंगो लगाउने सुनाए ।

यता क्वारेन्टाइनमा बस्नेको संख्या बढेसँगै उनीहरुको व्यवस्थापन र खानपानमा समस्या भएको छ । ‘क्वारेन्टाइनमा पानीको समेत व्यवस्था छैन,’ धमौरा क्वारेन्टाइनका एक युवकले भने, ‘बिजोग छ हाम्रो ।’ धेरैले घरबाटै खाजा र खाना मगाएर खाने गरेको छ । क्वारेन्टाइनभित्र सुत्ने व्यवस्था नभएकाले केहीमा त्रिपाल र प्लास्टिकमाथि तन्ना ओछयाएर भुईमा सुत्ने गरेका छन् । कोही विद्यालयको बरण्डा, र कोही चौरीमै सुत्ने गरेको छन् । अहिले रौतहटका विभिन्न पालिकाका ४६ क्वारेन्टाइनमा ३ हजार ५ सय बसेका छन् ।
साभारःकान्तिपुर