बिरामी बोक्ने एम्बुलेन्सले यात्रु ओसार्न थालेपछि….

602

रौतहट । रौतहटमा बिरामी बोक्ने एम्बुलेन्सले बढी पैसा कमाउने लोभमा यात्रु बोक्ने गरेको पाईएको छ । बिरामी छाडेर यात्रु बोक्न थालेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शनिबार ३ वटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । तीमध्ये दुई वटा निजी र एउटा रेडक्रस सोसाइटी उपशाखा हिरापुर बैरेजको एम्बुलेन्स भएको बताईएको छ । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको अवस्थाको फाईदा उठाँउदैं केही पैसाको लोभमा एम्बुलेन्सले रिजर्भमा यात्रु ओसार्न थालेपछि प्रहरीले चालकसहित पूर्वपश्चिम राजमार्गबाट एम्बुलेन्स नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

काठमाडौंबाट हरिऔन आउँदै गरेको ज १ च १३४४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले पौराई खण्डबाट पक्राउ गरेको बताएको छ । सर्लाहीको हरिऔन ११ घर भएका चालक कृष्ण लामाले १२ हजार रुपैया लिएर रिजर्भमा ६ यात्रु बोकेका थिए ।
सर्लाहीको बरथहवाबाट पनि एक परिवारका सदस्य बोकेर वीरगन्ज हिँडेको ना १ च ९१९६ नम्बरको रेडक्रसको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । चालक शिवकुमार यादवले बच्चा बिरामी भएको भनेर खबर आएपछि वीरगन्ज लैजान लागेको बताएका छन् । त्यस्तै यात्रु बोकेर सर्लाहीको नवलपुरबाट वीरगन्ज जाँदै गरेको ना २ च ९९७७ नम्बरको एम्बुलेन्स र चालक राजमहम्मद मियालाई पनि ईप्रका चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको डीएसपी शाहीले जानकारी दिनुभयो ।
लकडाउनका बेला राजमार्गमा एम्बुलेन्स बढी चलेको देखेपछि प्रहरीले शंका लागेर जाँचलाई तीव्र पारेको डीएसपी शाहीले बताउनुभयो ।