निजी अस्पतालमा निशुल्क आइसोलेन वार्ड

456

रौतहट, १६ चैत । कोरोना भाइरस (कोभिड – १९) को संक्रमण फैलदै गएसँगै ठूलाठूला निजी अस्पतालहरु शंकाष्पद बिरामीहरुको उपचार गर्न अस्तव्यस्त छन् । यस्तै रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा रहेको चन्द्रपुर हस्पिटल प्रालीले आफ्नै श्रोत र साधनमा कोरोना संक्रमित र शंकाष्पद बिरामीहरुको उपचार गर्दै आएको छ । यदि कोही व्यक्ति कोरोना संक्रमित भएमा उनीहरुको निशुल्क औषधि उपचार गर्ने अस्पतालले घोषणा गरेको छ ।


यस्ता संक्रमितहरुलाई राख्नको लागि १० शैयाको छुट्टै आइसोलेसन वार्डपनि अस्पतालले स्थापना गरिसकेको छ । जसमा जिल्लाका विभिन्न स्थानका क्वारेनटाइनमा बसेकाहरु मध्ये कसैलाई कोरोना भाइरसको लक्षण देखिए राख्ने व्यवस्था मिलाइएको छ । कुल ५० वेड रहेको सो अस्पतालले आफ्नो ‘पोष्ट अपरेटिभ वार्ड’ लाई आइसोलेसन वार्ड बनाएको हो ।
सारा विश्वनै कोरोनाको महामारीसँग जुधिरहेको अवस्थामा स्वास्थ्यकर्मीको नाताले आफूहरुको पनि दायित्व भएकाले सकेको तयारी गरेको चन्द्रपुर हस्पिटल प्रालिका संचालक डाक्टर सुवास चौधरीले बताउनुभयो । यस्तो अवस्थामा सबैले एकजुट भएर राज्यलाई सहयोग गर्नुपर्ने नागरिकको कर्तव्य भएकाले आफ्नो स्थानबाट सहयोग गर्न लागिपरेको उहाँको भनाइ छ ।
यदि कोही संक्रमित आइसोलेसन वार्डमा बस्नुपरे उनीहरुको सम्पूर्ण खर्च अस्पतालले बेर्होने चौधरीले बताए । ‘हाम्रो हस्पिटलमा आइसोलेसन वार्डमा बस्नुहुनेको सम्पूर्ण खर्च हामीनै बेर्होछौँ , उहाँहरुबाट एक रुपैया पनि लिदैनौँ’ डाक्टर चौधरी भन्नुहुन्छ, ‘उपचार सकिएपछि पनि राज्यका कुनै निकायमा हाम्रो यति खर्च भयो भनेर हामी बिल पनि पेस गर्दैनौँ । जति खर्च लाग्छ हस्पिटलकै लाग्छ ।’


उहाँले कोरोनाको संक्रमितहरुको थप उपचारको लागि काठमाडौँ लैजानुपरे पनि अस्पताललेनै एम्बुलेन्सको व्यवस्था गरिने पनि बताउनुभयो । डाक्टर चौधरीले सो अस्पतालमा अहिले स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कपडा (पिपिइ) ५ सेट रहेको र आवश्यकता अनुसार थप्दै लैजाने बताउनुभयो ।
‘हामी पूर्ण रुपमा आफूपनि सुरक्षित हुँदै संक्रमितलाई उपचार गर्न तयार छौँ’ उहाँले भन्नुभयो, ‘जति सुरक्षा अपनाएपनि खतरा त हामीलाई पनि छ । तर स्वास्थ्यकर्मी हौँ, जस्तोसुकै बिरामीको उपचार गर्नपनि हामी तयार रहनुपर्छ, डराएर गर्दिन भन्न मिल्दैन् ।’
यस अघि सो अस्पताले चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइन तयार नभएसम्म १० जनालाई सोही अस्पतालमा राखेको थियो । सो अस्पतालमा अहिले डाक्टर सुवास चौधरीको नेतृत्वमा चार जना दक्ष चिकित्सकको टोली कोरोना सक्रमितको उपचारमा तयार रहेको अस्पतालले जनाएको छ । सो टोलीमा डाक्टर कुन्दन चौधरी, डाक्टर नितुरानी स्वर्णकार, डाक्टर राजन यादव रहेका छन् । उनीहरुले सो अस्पतालमा मात्र नभइ चन्द्रपुर नगरपालिकामा संचालन रहेको क्वारेनटाइनमा पनि निशुल्क उपचारात्मक तथा मनोपरार्मशक सेवा प्रदान गर्दै आइरहेका छन् ।अस्पतालले तयार पारेको आइसोलेसन वार्ड नेपाल सरकारको मापदण्ड बमोजिम रहेको अस्पतालको दाबी छ । सो अस्पतालले अन्य समयमा पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । चन्द्रपुर अस्पताल प्रालिले आज कोरोना संक्रमणको आशंकामा ३ जनाको स्वाभ संकलन गरेर संकलन गरेर केन्द्रिय प्रयोगशाला टेकुमा पठाएको छ । क्षेत्रिय प्रयोगशाला जनकपुरबाट ल्याएको ३ वटा किटमा अस्पतालकै ल्यावका कर्मचारीले स्वाभ संकलन गरेका थिए । यसरी संकलन गरिएको नमुना आजै एम्बुलेन्समा हालेर पठाइएको अस्पतालले जनाएको छ । ती तीनजना मध्ये २ जनालाई ज्वोरो र खोकी आएको एवम् एकजना चन्द्रपुरको क्वारेन्टाइनमा राखिएका छन् ।


करिब १० दिन अगाडि भारतको मुम्बइबाट आएकी २३ बर्षीया महिलालाई ज्वोरो र खोकी दुबै देखिएकाले , अर्का २५ बर्षीय पुरुष स्वास्थ्यकर्मी रहेका छन् । उनलाई खोकी ज्वोरो दुबै भएको अनि क्वारेनटाइनमा बस्ने २५ बर्षीय पुरुष रहेको चन्द्रपुर अस्पताल प्रालीले जनाएको छ । क्वारेनटाइनमा बस्नेलाई सामान्य खोकी लागेपनि समग्र क्वारेनटाइनको बस्नेको सर्वेक्षण गर्न नमुना लिइएको अस्पतालको भनाइ रहेको छ ।