गायक भिटेनद्धारा महिला खेलाडीलाई सहयोग

882

चन्द्रपुर । चर्चित र्यापर गायक समिर घिसिङ (भिटेन) ले रौतहटका महिला खेलाडीहरुले देशकै नाम उच्च पार्न सफल भएकोमा आफुलाई निकै खुसी लागेको बताएका छन् । दशैँमा चन्द्रपुर – ४ ठाडाटोल स्थित आफ्नो घरमा टिका थाप्न आएको बेला यहाँका महिला खेलाडीहरुलाई खेल सामाग्री सहयोग गर्ने कार्यक्रममा बोल्दै उनले देशका विभागिय क्लवहरु र राष्ट्रिय टोलीमा रौतहटका महिला खेलाडीहरुको वर्चश्व हुनु समग्र रौतहटवासीको लागिनै गौरवको विषय भएको जिकीर गरे ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर – ६ स्थित स्व. शेर बहादुर दर्लामी खेल मैदानमा आयोजित एक कार्यक्रममा उनले महिला खेलाडीलाई १५ थान बल प्रदान गरेका हुन् । आएको बेला उनले स्थानिय महिला खेलाडीहरुलाई सहयोग गरेका हुन् । उनले खेलाडीहरुलाई खादा ओडाएर सम्मान पनि गरेका थिए । आफ्नो जन्मथलोमा आएर खेलाडी चेलीहरुलाई सहयोग गर्न पाउँदा निकैनै खुसी लागेको गायक भिटेनले बताए । यसै ठाउँमा साथीहरुसँगै फुटबल खेलेर हुर्केको विगत स्मरण गर्दै उनले आफु ठुलो फुटबल प्रेमी बताए । उनले भने, ‘यो सहयोगको सुरुवात मात्र हो । आफ्नो गाउँको चेलीहरुको फुटबलको विकासको लागि भविष्यमा अझ बढी सहयोगहरु गर्नेछुँ ।’कार्यक्रममा रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले देश विदेशमा चर्चा कमाइ सकेका गायक भिटेनले आफ्नो गाउँ सम्झेर यहाँका चेलीहलाई फुटबल खेल्न सहयोग गर्नु निकै राम्रो काम भएको भन्दै यसले खेलाडीहरुमा पनि सकारात्मक उर्जा प्रदान गर्ने जिकिर गरे । अखिल नेपाल फुटबल संघ प्रदेश नम्बर २ का लिग संयोजक नेपाल कार्कीले जतिसुकै चर्चा र नाम कमाए पनि आफ्नो जन्मभुमीलाई नबिर्सिएको र आफ्नो स्थानको लागि केही सहयोग गर्न लागि परेको भन्दै भिटेनको प्रसंशा गरेका थिए ।

उनले आफ्नो जिल्ला रौतहट महिला फुटबलको हवको रुपमा विकास गर्न सबैजना एकजुट भएर लाग्नुपर्नेमा भन्दै जोड दिए ।
कार्यक्रम पछि भिटेन स्थानिय खेलाडीहरुसँग केहीबेर फुटबल म्याच खेलका थिए । सो खेलमा उनले १ गोल गर्दै आफ्नो टिमलाई ३–० ले विजयी गराएका थिए । भिटेन आउने थाहा पाएपछि कार्यक्रम स्थलमा ठुलो संख्यामा उनका फ्यानहरु जम्मा भएका थिए । उनलाई मैदानमा आएका आफ्ना फ्यानहरुलाई अटोग्राफ दिन र फोटो खिच्न केहीबेर भ्याइनभ्याइ भएको थियो ।सो खेल मैदानमा दैनिक ६० भन्दा बढी महिलाहरुले दैनिक रुपमा फुटबल सिक्ने गरेका छन् ।