मनको मैला कसरी पखाल्ने ?

609

बेस्सरी रुँदा-रुँदा थाकेर मस्त सुतेको शिशु जब ब्युँझन्छ, उनको अनुहारमा मोहक आभा छाउँछ । उनी मुस्कुराउँछ । त्यो मुस्कान कति निश्छल हुन्छ । उनी कति उमंगित देखिन्छ । कति फुरुंग देखिन्छ । बिहानको शीतमा फक्रन लागेको गुलाबको थुँगा जस्तै ।

अघिसम्म उनी खुसी थिएनन् । उनले चाहेको कुरा पुगेको थिएन । भनेको जस्तो भएको थिएन । उनलाई असहज भएको थियो । त्यही कारण उनले घुर्की लगाएका थिए । चित्त दुखाएका थिए । त्यसैले त उनी बेस्सरी रोइदिएका थिए ।

तर, जब उनी ब्युँझिए । अघिसम्मका पीडा, व्यथा, वेदना, गुनासो, घुर्की केही रहेन । आँशुसँगै ति पखालिएर गयो । अब उनको हृदय वर्तमानको खुसी र उमंगमा मग्न छ । उनलाई कुनै गुनासो छैन । कुनै वेदना छैन । रिस र राग छैन । मन फुरुंग छ । मनमा करुणा र स्नेहको उसैगरी छचल्किएको छ । अब उनमा बैरभाव छैन । कपट छैन । छल छैन । संसार उनलाई आफ्नै लाग्छ । सबै उनलाई आफ्नै लाग्छ ।

कालो बादल मडारिएर रातभर दर्के झरी परिसकेपछि जब बिहानको कलिलो घाम धर्तीमा पोतिन्छ, वातावरण कति कञ्चन देखिन्छ ? मनको मैला पखालिसकेपछि एउटा मान्छेको मन त्यस्तै सफा हुन्छ । अनुहारमा चमक छाउँछ ।

मन कसरी दुषित हुन्छ ?

त्यही शिशु हुर्कदै जान्छ । जान्ने, बुझ्ने हुन्छ । तब उनलाई बोध हुन्छ, म फलानो व्यक्ति । फलानोको छोरा/छोरी । फलानो वंशको । फलानो खानदानको । फलानो ठाउँको । फलानो जातको । फलानो पार्टीको । फलानो धर्मको ।

जति-जति उनको उमेर बढ्दै जान्छ, उनको भावनाको दायरा खुम्चदै जान्छ । उसको खुसी र उमंगको सीमारेखा साँघुरिदै जान्छ । अब उनमा ‘तेरो र मेरो’, ‘आफ्नो र अर्काको’, ‘आफन्त र पराई’ भन्ने कुराले बढी ठाउँ पाउँछ ।

यतिबेला उनमा रिस, राग, इष्र्या, दम्भ, भेदभाव, कुष्ठा जस्ता विकार प्रवेश गरिसकेको हुन्छ । अब उनले हिजोको जस्तो मुस्कुराउन सक्दैन । हिजोको जस्तो निश्चल हाँसो उनको अनुहारबाट गायब हुन्छ । हिजोको जस्तो मैत्रिय भाव उनको मनबाट बेपत्ता हुन्छ ।

उनलाई सबै आफ्ना लाग्दैनन् । सबै पि्रय लाग्दैनन् । अर्काले गरेको प्रगतिमा उनी खुसी भन्दा बढी दुःखी हुन्छ । अर्कामा छाएको उमंगले उनलाई फुरुंग होइन, वेचैन बनाउँछ । किन ?

किनभने उनको त्यो सफा, कञ्चन, निश्छल, निर्मल, निर्दोष मनलाई घृणा, अपहेलना, दम्भ, आडम्बर, इष्र्याले थिच्न थाल्छ । मनको यही विकारले नै उनको जीवनलाई दुषित बनाइदिन्छ । दुर्गन्धित बनाइदिन्छ । कोलाहाल बनाइदिन्छ ।

मनोविकार र रोग

हो, उनको मन फोहोर-मैलाले दुर्गन्धित हुन्छ । जब मन यति प्रदूषित हुन्छ, तब उनको खुसी, हाँसो, मैत्रिय भाव नष्ट हुन्छ । यही विकारले त हो, उसलाई उन्मुक्त हाँस्न नदिने ।

छल, कपट, दम्भ, घृणा, आडम्बर जस्ता दुषित तत्वले हाम्रो मनलाई विकृत बनाइदिन्छ । यसलाई जबसम्म पखाल्दैनौ तबसम्म हामी मनोविकारले ग्रस्त हुन्छौ । यही विकार त हो, हाम्रो शरीरलाई दुःख दिने । हाम्रो अनुहारलाई कुरुप बनाउने । यही विकारले नै उच्च रक्तचाप, हृदयरोग, डिप्रेसनमा पुर्‍याउँछ ।

यति भयानक विकारलाई हामी किन पखाल्दैनौ ? किन नष्ट गर्दैनौ ?

मनको मैलो पखाल्नुहोस् त, तपाईं एउटा निश्छल, निर्दोष, निष्कपट शिशु झै देखिनुहुनेछ । चञ्चल, फुरुंग, उमंगित। अनलाइनखबर डटकम बाट साभार।