‘लाछी, डिभोर्स गर्न सकेनौ है,’ खल्तीको रुमाल मागे झैँ उसले सुत्नुअघि फेरि डिभोर्स मागी । ‘च्याटमा के कुरा गर्नु, भेटमा भनौँला,’ चर्किएको भित्ता कमेरोले टाल्न खोजेँ झैँ गरेँ । ऊ के मान्थी र ! ‘अस्ट्रेलिया लैजान्छु भन्दा पनि सकेनौ डिभोर्स दिन, ल उसैका लाम्टामा रमाऊ ।’

उसको मर्मभेदी वाणले पसिनै आयो । 

भनेँ, ‘हो, यही अन्तिम निर्णयको पिङ मच्चाउने भएँ । नयाँ डोरी नबाट्ने, पयो नथप्ने ।’

‘माया गरेर, प्रेममा पारेर बिहे गरेकीलाई नछाड्ने भएँ,’ आवेशले आँखा देखिनँ र लेखेँ, ‘चाहिएन बुढेसकालमा तिम्रो कस्मेटिक माया अनि धनले टालटुल पारेकोे घमण्डी वैँश ।’

दुई महिना भयो कुरा नभएको । काठमाडौँ भन्दा पर सहरमा छ उसको आलिशान महल । खाइलाग्दा छोराहरु छन् मजत्रै । बूढो पनि हेर्दा देखिन्छ हट्टाकट्टा । व्यापार व्यवसाय धानेर भ्याइनभ्याइ छ । मजस्ता त डेढ दर्जन उनको होटलमा जागिरे छन्, त्यतिकै जति मनि एक्सचेन्जमा अनि अरु त्यतिकै अर्को रेस्टुरेन्टमा । बैंक ब्यालेन्स छ । घर छ । काठमाडौँमा पनि महल छ । 

००००

उसँग छैन त मात्र, रात ढल्कँदै गएपछि पल्किएको चोर बिरालोजस्तो बेला न कुबेला ढिम्कने कुर्कुरे रहर मच्चाउने जवान लिङ्गे पिङ र त्यही पिङमा मच्चाएर थकित पार्ने । हो, दशक नाघ्यो रे उसको रहरको कीरा मार्ने थला परेको । अन्तिम पटक मनकामनामा भेट्दा खाइलाग्दो राइनासे देखिन्थ्यो पति महोदय । ‘मेरो श्रीमान् सुमन,’ उसले चिनाएको थियो, ‘उ मेरो लेखक साथी ।’ स्थानः कुरिन्टार कफी क्याफे । दह्रो हात मिलाएका सुमन रोजाको रहरमा एक्सिलेटर दबाउन नसक्ने भएको कुरा अलि पछि मात्र थाहा भयो, जब राति ११ बजेपछि अनलाइनमा च्याट नगरी ननिदाउने हाम्रो दैनिकी हुन थाल्यो ।  

एउटा अशल साथी मानेको थिएँ । मेरै पेशाका मेरै दमालीसँग उसको लोभलाग्दो हिमचिम थियो । नाम चलेका पत्रकार दाइहरु रात ढल्दै गए पनि रोजाको तस्बिरमा कमेन्ट गर्न भुल्दैनथे । बरु घरमा छोरीले होमवर्क गर्न ल्याइदिनु भनेको सामग्री लैजान भुल्थे तर रोजाको तस्बिर नहेरी, कमेन्ट नगरी निद्रै पर्दैनथ्यो उहाँहरुलाई । भन्थी, ‘खोइ त तिम्रो कमेन्ट ?’ भन्थेँ, ‘दाइहरुको कमेन्टमा भाइ किन हलुवामा बालुवा बन्नु ?’ रोजासँग २ बजेसम्म गफिने बानी थियो । पटकपटक बूढीले तान्दै, तिघ्रातिर नङखुर दबाउँदै भन्थी, ‘नसुत्ने, कोसँग च्याट गरेको, मध्यरात भइसक्यो ?’

००००

यो शहर यस्तै छ । रात ढल्दै गएपछि धेरैको रहरको मुस्लो पुत्पुताउन थाल्छ । कति प्रकट गर्ने, कति नगर्ने ? नातिनीको मगनी भइसकेका समाजसेवीहरु पनि अरुका बुहारीको तस्बिरमा लाइक गरिरहेका हुन्छन् । फेसबुकको दाहिने झ्यालतिर देखिएका यौवनाहरुको तस्बिर हेर्दै अनि ¥यालिँदै ‘एड फ्रेन्ड’मा ढकढक गरिरहेका हुन्छन् । कयौँपटक दौँतरीहरुले सोधेका छन्, ‘यो कुन पात्तिएको बूढो हो, राति १ बजे रिक्वेस्ट आयो, हजुर ‘म्युचुअल’ होइसिन्छ ।’

केही क्ल्यु दिन्थेँ । ‘ओके गरौँ त ?’, सोधिन्थ्यो । केहीदिनपछि उनीहरुको फोटो पोस्टिन्थ्यो सामाजिक सञ्जालको झ्यालैमा । लेखिन्थे, ‘पायोनियर फलानासँग एक पोज ।’ एक पोज मात्रै छापिन्थ्यो । बाँकी पोज सायद च्याटको कन्तुरमा हुन्थ्यो होला, मनलाग्दा दुवैले हेरेर चित्त बुझाउने । सहरमा धेरै ‘पायोनियर’ हरुको प्लस टु पुस्तालाई अघि बढाउने योजना ‘बिर्को लगाएको बट्टाभित्र छिरेको कमिला’जस्तै लाग्छ । 

००००

‘खुच्चिङ, तिमीलाई त म त हिँडे पोखरा, माया हिँड्यो दाङको बसैमा भनेजस्तै भएछ नि,’ रोजाको सन्देश आयो । 

‘कसरी ?’ पोखरा लेकसाइडमा बियर्स गरिरहेका समूहसँग भएकाले छोटोमा सोधेँ । 

‘थाहा छैन, तिम्रो बूढीले डिभोर्सका लागि अदालत जान लागेको समाचार पढेँ ।’ 

‘के मा ?’ चिसो बियरको ह्याङ तुरुन्तै सकियो । 

‘पहिला तिमी नै काम गरेको अनलाइनमा,’ उसले सजिलै भनी ।

हतारमा सम्पादकलाई फोन गरेँ । फोन उठाएनन् । फोन काटेपछि आउने सामन्ती सन्देश आयो, ‘कल यु लेटर ।’ मोबाइल सेटमै सेटिङ सन्देश हो यो, व्यस्त देखाउने, नवधनाढ्य र सामन्तीहरुको नाटक । 

अनलाइन भिजिट गर्न खोजेँ । त्यो सामग्री थिएन । 

ब्लग थियो मेरो बुढीको । 

पढेँ, सारमा भाका यस्तो थियो । 

‘तिम्रो बाबाआमाको स्याहार गरेँ, तिमीलाई पनि तातो काख दिएँ, तिम्रा सन्तानहरुको कपिराइट पनि तिमीलाई दिएर फगत सेविका बनिरहेँ । बदलामा तिमी हप्तामा पाउने एकदिनको बिदामा नगरकोट र ककनीमा तालिम र गोष्ठी भन्दै हिँड्छौँ । बिहानै घर छाड्छौ । बेलुका आउँदा सुतिसकेको हुन्छु, तिमी अमलेगञ्जबाट लोड भएर छचल्किँदै थानकोट आइपुगेको ट्यांकरको इन्धन झैँ ‘अत्यधिक प्रज्ज्वलनशील’ भएर आएका हुन्छौ । बुझ्छु म, साथ दिन सकिरहेको हुन्नँ, किनभने तिम्रै एकभारी लुगा धोएर, तिम्रै छोराछोरीलाई सेवा गरेर लखतरान परेको हुन्छु । हिन्दी सिरियलले बिग्रिए नेपाली आइमाइ भन्छौ । तिमीहरु पनि त एउटै नेताले एकहजार ठाउँमा भनेको एउटै भनाइ एकसय पटक हेडलाइन बनाउँछौ । जनताको कति गुनासो होलान् ? तिमी पेशाको आवरणमा, राजनीतिक बहानामा, अरु अनेक कथा जोडेर कतिसँग गफिन्छौ । कुनैदिन मागेको छु र पासवर्ड ? कहिले हेरेँ र मोबाइलका अनेक सामाजिक सञ्जालमा आएको सन्देश ? तिमीमा अथाह विश्वास छ र त धनको पछि नलागी लगातार दासी भएको छु । यतिमा पनि छैनौ भने खुशी, हाँसिहाँसी दिन तयार छु डिभोर्स । के तिमी मसँग डिभोर्स गरेर खुशी हुन्छौ ? कतै म तिम्रो खुशीको हवाईजहाज ‘ग्राउन्डेड’ त गरिरहेको छुइनँ ? छ भने भन है, भोलि आउ अदालत, दिन तयार छु डिभोर्स ।’

००००  

ब्लगको पुछारमा ब्राकेटभित्र थियो, ‘पत्रकारका पत्नीहरुको निबन्ध प्रतियोगितामा उत्कृष्ठ ठहरिएको निबन्ध । निबन्धकार पत्रकार एलनकी पत्नी हुन् ।)

तर अरु अनलाइनहरुले समाचार बुलेट रेल गतिमा दिने बहानामा लेखिदिए ‘एलनको डिभोर्स ।’

सामाजिक सञ्जालभरि कपी पेस्ट भएर डिभोर्सले हंगामा मच्चाइसकेको थियो । 

छोरीको फोन आयो, ‘बाबा तालिम कहिलेसम्म हो ?’

‘भोलि दिउँसो फर्कन्छु,’ जवाफ दिएँ । 

भनिन्, ‘ममीले निबन्ध प्रतियोगितामा पाइसे’को पुरस्कारले पार्टी दि’सिने रे, छिटो आइ’स्यो ।’

अनलाइनमै च्याटमा भनेँ, ‘कंग्र्याच काली ।’

उसले भनी, ‘निबन्ध लेख्दा त हजुरसँग डिभोर्स भनेर लेख्छन् तपाईंका साथीहरु, यस्तो उडन्ते समाचारले कतिको घर बिग्रियो होला ? उनीहरुका बच्चाहरु हाम्राजस्तै सहनसक्ने होलान् र ? कति दिन उडन्ते समाचारले दुनियाँको घरमा आगो लगाइरहने पत्रकारज्यू ?’

केही बोलिनँ । लेख्नेहरुलाई हेर्ने निकाय टन्नै छन् । समाचारले कति असर गर्छ ? परेपछि थाहा हुन्छ । 

पत्नीकै ट्विट आयो, ‘मैले निबन्ध लेखेको हुँ, समाचारमा सत्यता छैन ।’ लिंक शेयर थियो, ‘एलनको डिभोर्स ।’

‘तिम्रो पेशा नौटंकी, तिम्रो पत्नी पनि नौटंकी,’ रोजाले स्क्रिन सट पठाई । 

भनेँ, ‘मेरो डिभोर्समा खुशी हुने तिम्रो रहर पूरा भएन ।’

उसले भनी, ‘नेक्स्ट विक नेपाल आएर तिमीलाई अष्टे«लिया लैजाने प्रक्रिया घान हालौँला भनेको त सपना चक्नाचुर भयो, एलनको डिभोर्स पढेर काउकुतिको त केहीबेरमै ‘काउसो’ पो भयो । तिम्रै जिन्दगी क्याटबरीमय, मेरो जिन्दगी सधैँ खाक्सी ।’

उसले ब्लक गरी ।

‘सरी’ पनि भन्न पाइनँ रोजालाई । यही ब्लगबाट पुगोस् सन्देश । उही पुरानै शब्द दोहो¥याएँ, ‘चाहिएन बुढेसकालमा तिम्रो कस्मेटिक माया अनि धनले टालटुल पारेकोे घमण्डी वैँश ।’