प्रियाको ऐना

332

कथा

–गायत्री ज्ञवाली

प्रिया छिन्छिनमा बाथरुम पस्छे । हात अनि अनुहार पखाल्छे फेरि छिन्छिनमा आफ्नो कोठाको स्टिल दराजमा टाँसिएको ऐनाअगाडि उभिएर भिन्न भिन्न कोणबाट आफूलाई हेर्दै मुसुमुसु मुस्कुराउँछे । ऐना अगाडि उभिँदै खिसिक्क हास्दै भर्खरै फुक्लेर थोता परेका दाँतहरुलाई राम्रोसँग नियाल्दै भन्छे, ‘छ्या ! कस्तो नराम्री देखिएको ? यो लामो कपाल त मलाइ पटक्कै मन पर्दैन !’ तर आमा भने सधैँ आहा ! मेरो छोरीको कपाल कस्तो राम्रो ! भन्दै तेल लगाएर बाटिदिनुहुन्छ । रिबन लगाइदिनु हुन्छ । उता स्कूलमा मेरा साथीहरु भने घरिघरि मेरो रिबन तान्दै जिस्काउँछन् । उसमाथि बिना त जहिले पनि मेरो लामो कपाल र रिबनलाई लिएर कत्ति खिसी गर्छे ।

छ्या ! कति लामो कपाल पालेको ? कति लामो स्कर्ट लगाएको भन्छे । अनि उसको सुरमा लागेर अरु साथीहरु पनि मलाइ राम्री भएर हिँड्न आउँदैन भन्दै जिस्काउँछन् । आलाइ पनि कतिपटक भनिसकेँ । बिनाको जस्तै छोटो स्कर्ट सिलाइनु अनि उसको जस्तै छोटो कपाल काटिदिनु भनेर । तर उहाँ कहिल्यै मान्नु हुन्न ।

मेरो मिल्ने साथी मीरा कस्ती राम्री छे । सधैँ चिटिक्क परेर स्कुल आउँछे । त्यसैले त होला सबैजना उसलाई मन पराउँछन् । राम्री भएर त होला नि, शिक्षकहरु पनि उसलाई नै धेरै माया गर्नुहुन्छ । सबै साथीहरु पनि उसँग मिल्छन् । उसैसँग खेल्न मन पराउँछन् । प्रिया सोच्छे, ‘आखिर के उपाय छ, जसले उ पनि साथी मीराजस्तै देखिन सकोस् ?’

अबोध प्रिया पुरानो ऐनाअघि उभिएर आफ्नो आकृति घरिघरि नियाल्छे । रिबन लगाएर बाटिएको लामो कपाल फुकाउँदै कोर्न थाल्छे । आफ्नै सुरमा गुनगुनाउँदै राम्री देखिने अनेक जुक्ति निकाल्दै कहिले लामो कपाल मुसार्छे त कहिले फेरि लामो नाक थेप्च्याउँछे अनि सोच्छे ।

मेरो नाक अलिकति छोटो भइदिएको भए अथवा मेरो अनुहारको रङ्ग अझै गोरो भइदिएको भए म पनि मीराजस्तै राम्री देखिने थिएँ कि ?

प्रिया अगाडि टेबलमा राखिएको आमाको फेयर एण्ड लभ्ली क्रिम झिकेर अनुहारमा दल्छे अनि फेरि हतार नङ पालिस खोल्दै हात खुट्टाका नङ रङ्गाउन थाल्छे । छिनमै फेरि ऐनामा हेर्दै भित्रै गाडिएका आँखा हेर्दै गुनासो गर्न थाल्छे, छ्या ! मेरो आँखा पनि कस्तो गडेको होला नि ? त्यसमाथि आँखी भौ पनि कस्तो नमिलेको ? प्रिया यस्तै यस्तै अनेक गुनासा आफैँसँग पोख्दै एक्लै गुनगुनाइरहेकी हुन्छे।

प्रिया ! होइन तिमी किन अलमल गर्दै ऐना अगाडि उभिएको ? तिमीहरु त आज वनभोज जाने होइन ? ढिला भएको छैनर ? आमाको चर्को आवाज सुनेर प्रिया झसङ्ग हुन्छे । हत्तपत्त भित्तामा झुन्डिएको घडी हेर्छे अनि फेरि ढुक्क हुँदै भन्छे, ‘छैन ढिलो भएको । आज हामी सबै हाम्रै घरअगाडिको चोकबाट बस चढ्ने हो नि !’

आज बस हाम्रै घरको बाटो भएर आउँछ । त्यसैले बस चढ्न स्कुलसम्म पुग्नु पर्दैन नि । प्रिया जवाफ फर्काउँछे।

प्रियाले अस्ति भर्खरै आफ्नो अङ्कलको बिहेमा आमाले किनिदिनु भएको सितारा भरिएको फिरफिरे जामा समात्दै भन्छे, ‘आज म यही जामा लगाएर जान्छु है आमा ?’

आन्टीले भन्नु भएको, म यो जामा लगाउदा कस्ती राम्री देखिन्छु रे !

अनि मेरा साथीहरु कसैले पनि मलाई यस्तो राम्रो जामा लगाएको देखेका छैनन् रे ! हुन्छ आमा 
?

हुँदैन हुँदैन ।  कहाँ यस्तो फिरफिरे जामा लगाएर पिकनिक जाने ? यो त बिहे ब्रतबन्ध अनि पुजामा लगाउने ।

‘पिकनिक जाँदा त दिनभरि खेल्न अनि घुम्न सजिलो हुने लुगा पो लगाउनु पर्छ त । यस्तो जामा लगायो भने दिनभरि खेल्न अप्ठेरो हुन्छ नि !’ आमा उसले धेरैपटक लगाएको कुर्ता अनि सुरुवाल निकाल्दै भन्नुहुन्छ, ‘ल आज यही लगाएर जाऊ । धोएर सफा पारेर राखिदिएकी छु ।’
उसले मलिन अनुहार पार्दै भन्छे, ‘छ्या ! फेरि पनि यही लुगा ? आज त यो लुगा त म लगाउँदै लगाउँदिनँ । जहिले पनि यही लुगा, दिक्क लागिसक्यो ।’ प्रिया घुर्की लगाउँछे ।

किन ? के भयो र ! यो लुगा लगाउन नहुने त्यस्तो ? भरे फर्किँदा धूलोमैलो दलेर फर्किने त हो नि ? अब दिनभर खेल्न सजिलो हुने लुगा लगाए पो पिकनिकमा रमाइलो गर्न सकिन्छ त ? आमा कुरा बुझाउँदै भन्नु हुन्छ ।

आमाको कुरा सुनेर प्रिया फेरि भन्छे, ‘स्कुलमा मलाइ साथीहरुले तिमी त लुगा लगाउन पनि नजान्ने, कस्तो गाउँघरमा बस्ने जस्ती भनेर जिस्काउँछन् । तेल लगाएर दुई चुल्ठा रिबन बाटेर स्कुल आउने छ्या ! भनेर हास्छन् । शहरमा बस्ने जस्तो अलि चिटिक्क परेर स्कुल आउने गर न भन्छन् । त्यसैले आज पनि अरुजस्तै चिटिक्क परेर जान मन लागेको हो आमा ।’

गाउघरमै जन्मेर हुर्किएर भर्खरै मात्र शहर बसाईसराई गर्नुभएकी प्रियाकी आमा प्रियाको कुरा सुनेर अलि झोक्किदै भन्नुहुन्छ, ‘कस्ले भनेको नि तिमिलाई लुगा लगाउन आउँदैन भनेर ? कस्ले भनेको फेरि गाउँघरकी जस्ती भनेर ? गाउँघरका त झन रसिला पोसिला राम्रा चिटिक्कका हुन्छन नि !

देखेको छु, मैले तिम्रा सबै साथीहरुलाई । मेरो विचारमा त तिम्रा सबै साथीहरु भन्दा तिमी धेरै राम्री देखिन्छ्यौ !

त्यस्तो आर्काले जे भन्छन् त्यस्कै पछि लागेर पनि कहिँ हुन्छ ? आफू राम्रो छु भन्ने कुरामा आफूलाई विश्वास हुनु पर्छ नि ! अनि पो राम्री देखिन्छ । मान्छे राम्रो त उभित्रको आत्मविश्वासले हुन्छ, आफ्नो राम्रो गुण र स्वभावले हुन्छ ।

त्यस्तै नराम्रो पनि आफूप्रतिको आफ्नै मनको अविश्वासले हुन्छ ।

छोटा लुगा लगाएर, कपाल काटेर अनि अनुहारमा नाना थरि दलेर पनि कोही सुन्दर देखिन्छ त ? आमा सम्झाउनु हुन्छ । आमा प्रियालाई आफूतिर तान्दै खोइ यता आऊ, अब ढिलो हुन्छ फेरि भन्दै प्रियालाई आफ्नो काखमा राखेर उसको कपाल बाटिदिनुहुन्छ र सधैँजस्तै पहेलो रिबनको फुर्का पनि पारिदिनुहुन्छ।

सलाईको बट्टा भित्रबाट आफैँले घरमा बनाएको गाजलको कोश निकालेर प्रियाको आँखामा कालो गाजल अनि निधारमा पनि गाजलकै कालो टीका लगाउँदै भन्नुहुन्छ, ‘मेरो प्यारी स्वर्गकी परी जस्तै राम्री छोरीलाई कसैको नजर नलागोस् ।’

आमाको कुरा सुनेर अचम्म मान्दै प्रिया सोच्छे, ‘म जस्तो नराम्रीलाई पनि काहिँ नजर लाग्छ त ? मलाई पनि राम्री देख्ने मेरी आमाको आँखालाई पनि के भएको होला ? अझै स्वर्गकी परी जस्ती रे !’ ऊ मनमनै आमालाई सम्झेर हास्छे ।

कपाल कोरिबाटी चिटिक्क पारेर भर्खरै लगाएको गाजल अनि टीका नलत्पतियोस् भनेर अनुहारमा थोरै पाउडर पनि दलिदिनुहुन्छ र आफ्नो दराजमा भएको सानो ऐना प्रियाको अनुहारअगाडि देखाउँदै भन्नुहुन्छ ।

‘ल अब राम्रोसँग आफूलाई म कस्ती राम्री छु भन्ने विश्वास लिएर यो ऐनामा हेर त एकैछिन राम्रोसँग आफूलाई नियालेर । अनि थाहा पाउने छौ तिमी वास्तवमा कति धेरै राम्री छौ भनेर ।’

राम्री हुन कपाल काट्नु पर्दैन नि छोरी ! न त झिलिमिली जामा नै लगाउनु पर्छ । राम्री देखिन त आफूलाइ हेर्न आफ्नै मनको दृष्टिकोण सुन्दर बनाउनु पर्छ । मनलाई निःस्वार्थ प्रेम, दया र सेवा भावनाको शृंगारले मनलाई सजाउनु पर्छ । आमा सम्झाउन छाड्न हुन्न ।

प्रियालाई पनि लाग्छ, सायद आमा ठीक कुरा गरिराख्नु भएको छ ।

आमाको कुरा मनमनै दोहोर्याउँदै भन्छे, ‘आहा कति राम्रो कुरा भन्नुभएको आमाले । हो नि त अब आफूले नै आफैँलाई नराम्री मानेपछि अरुले त जिस्काइहाल्छन् नि ।’

अब प्रिया पनि आमाले भनेजस्तै आफू राम्री छु भन्ने दह्रो आत्मविश्वास लिएर आमाले दिनुभएको ऐनामा आफ्नो अनुहार निकै बेरसम्म घोरिएर हेर्छे । उही अनुहार छ । उही रिबन बाटेको लामो कपाल। उही पुरानो कुर्तासुरुवाल तर केबल मनले सोच्ने दृष्टिकोण फरक ।

साँच्चै आमाले भनेजस्तै प्रिया पहिलोपटक आफूलाई कुनै परी भन्दा कम महसुस गर्दिन । त्यसैले ऐनासामु खुशीले मसक्क मुस्कुराउँदै भन्छे, ‘हो आमा म त साँच्चै राम्री पो रहिछु नि है ! हजुरले भने जस्तै म साँच्चै राम्री पो देखिएकी छु है ।’ उ अचम्म मान्दै सोच्छे, ‘कतै यो आमाले दिनुभएको ऐनाको जादु त होइन होला नि है ?’

छोरीको कुरा सुनेर आमा पनि खुशी हुँदै भन्नुहुन्छ, ‘ल आजदेखि यो एेना तिमी सधैँ साथैमा बोकेर हिँड्ने गर है । अब कसैले तिमीलाई नराम्री भनेर जिस्क्याउने कोशिस गरे आफूलाई अरुको कुरा सुनेर दुःखी हुनु भन्दाअघि ऐनामा एकपटक हेर्न नबिर्सिनू र कसैले ओहो कति राम्री भनेर फुर्क्याउने कोशिष गरिहाले भने पनि दङ्ग परेर आफ्नो रुपमा घमण्ड गर्नु भन्दा अगाडि आफूलाई ऐनामा हेर्न नबिर्सिनू । यो ऐनाले सधैँ तिमीलाई आफ्नो वास्तविक स्वरुपको परिचय दिनेछ ।

प्रिया पनि हस ! आमा भन्दै आफ्नो ब्यागमा आमाले दिनुभएको ऐना राख्छे अनि एक नौलो आत्मविश्वासको शृंङ्गारले आफ्नो मनलाइ सजाएर उ घरबाट निस्किन्छे ।

प्रिया निर्धक्क हुँदै मस्त रमाइलो गर्ने सुरमा देखिएकी छे । त्यसैले होला, आज उ बेपरवाह खुलेर ठूलो स्वरमा कराउँदैछे । हास्दैछे । अनि सङ्गीतको ताल अनि सुरमा कसैको परवाह नगरी नाच्दै गाउँदै खुब रमाउँदैछे । न त उसको मनमा आफूप्रति अविश्वास छ न त कुनै हिच्किचाहट नै । हिजोसम्म साथीभाइले नराम्री भन्लान् कि अथवा नजाति भन्लान् कि अथवा मजाक पो उडाउने पो हुन् कि भन्ने परवाह नगरी सुस्त अनि भासिएको स्वरमा बोल्ने प्रिया आज ठूलो स्वरमा रमाइलो गर्दैछे ।

साथीभाइ पनि यसरी एकाएक बदलिएको उसको स्वभाव देखेर सबैजना अचम्म मान्दै प्रियालाई नै नियालिरहेका छन् ।

घडीमा करिब चार बजेको छ । सबै पीपलको बोटको छहारीमुनि बसी मीठो जोक्स भन्दै एकअर्कालाई हास्न अनि हसाउन व्यस्त छन् ।

यस्तैमा सधैँ प्रियाको मजाक उडाउन रमाइलो मान्ने साथी बिना एकैछिन प्रियाको अनुहारमा घोरिएर हेर्छे । उसलाई के भनौँ अनि कसरी प्रियाको मजाक उडाउँ जस्तो हुन्छ, त्यसैले प्रियाको कानमा बिस्तारै साउती गर्दै भन्छे, ‘प्रिया, थाहा छ, तिमीलाई त गाजल लगाउन पनि नआउदो रहेछ है ? अनुहार भरि गाजल लत्पताएर कस्तो नराम्री देखिएकी ?’

के भनेको तिमीले ? मेरो गाजल अनुहारभरि लतपत भयो रे ? प्रिया सङ्कोच मान्दै सोध्छे ।

हो त ! तिम्रो अनुहार त गाजलले लतपत भएर कस्तो नराम्रो देखिएको छ ।

बिनाको कुराले प्रियालाई एकैछिन निकै नरमाइलो लाग्छ । सधैँजस्तै उसको कुरामा विश्वास मान्दै मलिन अनुहार लगाउछे । प्रियाको मलिन अनुहार देख्नासाथ बिना अझ थप्दै भन्छे, ‘थाहा छ ? आज तिम्रो त कपाल पनि कस्तो जिङ्ग्रिंग देखिएको छ नि । छ्या ! तिमी त कस्तो नराम्री देखिएकी ।’ यति भनेर उ प्रियालाई खिस्याउदै जोडसँग हास्न थाल्छे ।

सबै बिनाको हासोका कारण थाहा पाउन खोज्दै भन्छन् । बिना भन न तिमी किन यसरी हासेको ? के भयो र ?

बिना पनि प्रियाको अनुहारमा औँलाले देखाउदै झन जोडले हास्न थाल्छे । सबै बिनाको सुरमा लागेर प्रियालाई नै हेरेर गलल हास्छन् ।

प्रिया आफ्नो मजाक उठ्डाएको सहन नसकेर दुःखी हुँदै आँखा चिम्लिन्छे र मनलाई शान्त राख्ने कोशिस गर्छे । यस्तैमा उसले बिहानै मात्र आमाले दिनुभएको ऐना झल्यास्सँ सम्झिन्छे ।

हत्तपत्त झोलाबाट ऐना निकाल्छे अनि ऐनामा अनुहार आमाले भने जस्तै राम्रोसँग नियालेर हेर्छे तर अचम्मको कुरा बिनाले भने जस्तो न त उस्को गाजल लत्पतिएको छ न त कपाल नै बिग्रिएको छ । सबै कुरा जस्ताको तस्तै चिटिक्क छ । अझै भन्नुपर्दा घामको स्पर्शले उस्को अनुहार रातोपिरो भएर झन चम्किएर उज्यालो भएको छ ।

अब भने प्रिया ढुक्क हुन्छे । आमाले दिनुभएको ऐनाका लागि आमालाई विशेष धन्यवाद दिन्छे र ऐनालाई पुनः झोलाभित्र थन्काउँछे अनि पुनः आत्मविश्वासले भरिएको मधुर मुस्कानमा मुसुक्क मुस्कुराउँछे ।

यत्तिकैमा छप्ल्यास्स गर्दै बिनाको टाउको अनि अनुहारमा पर्ने गरी माथिबाट कसैले केही छ्यापिदिन्छ । त्यसैले बिना अल्मलिँदै आफ्नो छेउमा बसेकी प्रियालाई कोट्याउदै सोध्छे ।

प्रिया हेर त मेरो टाउको अनि निधारमा के छ्यापिएको छ ?

प्रिया बिनाको टाउको अनि अनुहारमा हेरेर अचम्म मान्दै मनमनै भन्छे, ‘छ्या १ कस्तो घिन लाग्ने गरी निधार अनि टाउको भरि कत्ति धेरै बिस्टाइदिएछ कागले ?’

प्रिया हत्तपत्त आफ्नो ब्याग खोल्छे अनि आमाले दिनुभएको ऐना झिक्छे अनि आफ्नो सेतो सफा रुमाल निकालेर बिनाको हातमा राखिदिँदै भन्छे, ‘त्यस्तो ठूलो केही होइन । तिमी आफैँ ऐनामा हेरेर पुछ न है । माथिबाट कागले धेरै नै बिस्टाइदिए जस्तो छ ।’

बिना प्रियाले दिएको ऐनामा कागले बिस्टाएर घिनलाग्दो देखिएको आफ्नो अनुहार देखेर मन मलिनो बनाउछे । अनि कहिँ कतै अरु साथीहरुले पनि देखेर आफ्नो मजाक उडाउने पो हुन् कि भन्ने डर मान्दै प्रियाले दिएको ऐना हेरेर आफ्नो निधार अनि टाउकोको फोहोर पुस्छे र मनमनै प्रियालाई सधैँभरि आफूले गरेको मजाक सम्झेर आँखाभरि आँसु पार्छे । जनता समाचार डटकम बाट साभार।