काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।
नागरिक दैनिक ले एकता नसकिंदै सत्ता विवाद शीर्षकमा प्रमुख समाचार प्रकाशन गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एउटा अध्यक्षले पार्टीलाई मुख्य रुपमा हेर्ने र अर्को अध्यक्षले सरकार मुख्य पमा हेर्ने भयो भने सहज हुन्छ’ भन्नुभएको समाचारमा उल्लेख गरिएको छ । तर दाहालले आलोपालो भनिए पनि आफुलाई प्रधानमन्त्री हुन भने हतारो नभएको बताउनुभएको छ । त्यसैगरी, आर्थिक वृद्धि ८.५ प्रतिशत हासिल गर्ने लक्ष्य रहेको समाचारबारे पनि अर्को मुख्य समाचार समेत छापिएको छ ।
कान्तिपुर दैनिक ले ‘अन्धविश्वासको पराकाष्ठा’ शीर्षकमा शीर्ष समाचार बनाउँदै देवी खुसी पार्न भन्दै अढाई वर्षे बालकको निर्मम हत्या भएको विषयलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ । धनुषामा दुई वर्षदेखि धामी झाँक्री विद्या सिकिरहेका अभियुक्तले देवी खुसी पार्न र आफ्नो शक्ति बढाउन बालक बलि दिएको स्विकार गरेका छन् । समाचार अनुसार २५ दिन लामो अनुसन्धानपछि प्रहरीले बालक आर्यन शाह हत्याको डरलाग्दो तथ्य सार्वजनिक गरेको हो । यसैगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न अफ्ठेरो नमान्ने र आफुले पनि लिन अफ्ठ्यारो नमान्ने बताउनुभएको समाचार पनि प्रथम पृष्ठमै समेटिएको छ ।
राजधानी दैनिक ले शक्तिशाली बन्ने महत्वाकांक्षाले बालकको बलि शीर्षकमा प्रमुख समाचार प्रकाशित गरेको छ । समाचार अनुसार धनुषामा दुई वर्षदेखि धामी झाँक्री विद्या सिकिरहेका एक व्यक्तिले देवी खुसी पार्न र आफ्नो शक्ति बढाउन एक बालकको हत्या गरेका छन् । त्यस्तै, पत्रिकाले जनकपुरको जानकी मन्दीर अतिक्रमण सम्बन्धि समाचारलाई पनि महत्वका साथ प्रकाशन गरेको छ ।
कारोबार दैनिक ले नक्कली मागपत्र देखाएर चरम ठगी शीर्षकमा मुख्य समाचार छापेको छ । समाचामा उल्लेख भएअनुसार सरकारले विभिन्न श्रम गन्तव्य देशहरुसँग शून्य लागतको सम्झौता गरिरहे पनि एजेन्टहरुले भने युवाहरुसँग सुरुमै चर्को लागतको कबुल गराएर पक्रीया अघि बढाउने गरेको पाइएको हो ।