नेपाली फिल्म ‘पासवर्ड’मा देखिइन् सन्नी लियोन, भदौमा प्रदर्शनको तयारी

593

काठमाडौं । सन्नी लियोनको नृत्य रहेको एक गीतसहितको नेपाली फिल्म ‘पासवर्ड’ भदौ २७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । त्यस्तै बलिउडकी हट अभिनेत्रीको रुपमा चर्चीत सन्नीको डान्स रहेको फिचर्ड गीत ‘सन्नी हो नाम मेरो’ गीत जेठ २० गते युट्युबमा रिलिज हुने भएको छ ।

पहिलो पटक नेपाली फिल्मको गीतमा नृत्य गरेकी सन्नीले यो एक गीतमा ठुम्का लगाउन मात्रै २ करोड भारु बुझेको निर्देशक सम्राट बस्नेतले जानकारी दिए । एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको उक्त गीतमा उनलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् ।

सौरभ लामाको छायांकन रहेको फिल्मममा बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनारलगायतको अभिनय रहेको छ ।

चर्चीत कोरियोग्राफर विष्णु देभाको कोरियोग्राफी गरेका छन् । उनले गीतमा सलमान खान, शाहरुख खानलाई नचाइसकेका छन् । अर्जुन पोखरेलले संगीत भरेको गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । ‘पासवर्ड’ को कथा र स्कृनप्लेको माग अनुरुप उनलाई गीतमा नृत्य गराइएको निर्देशक बस्नेत ले बताए ।

यो फिल्मलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । अजित कुमार थापा सह(निर्माता रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्मातामा छन् ।